Popular Post

Posted by : Unknown 30 Jul 2015








गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर
गुरु साक्षात परमं ब्रह्मा तस्मै श्री गुरुवे नम ः
उक्त श्लोकबाट स्पष्ट हुन्छ गुरुको महिमा । श्लोकमा लेखिएको छ गुरु ब्रह्मा हो गुरु विष्णु हो, गुरु नै भगवान शंकर हो गुरु साक्षात परमब्रम्हा हो, यस्तो गुरुलाई म प्रणाम गर्दछु । आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरुमा रहेको अन्धकाररुपी अज्ञान हटाउने गुरुलाई ब्रम्हा, विष्णु, महेश्वर र साक्षात् परम्ब्रम्हास्वरुप मानिन्छ ।
गुरु नै हुन् जसले हामीलाई जीवनका पथहरुमा हिँड्न सिकाउँछन् । आमाबाबुले हामीलाई धर्तीमा जन्म त दिन्छन् तर हामीलाई बाँच्न सक्न बनाउने गुरुले हो । हो यिनै ‘गुरु’ प्रति समर्पित छ आजको दिन । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा –आफ्ना सिप, सिक निस्वार्थ भावनाले बाँड्ने गुरुहरुप्रति नतमस्तक भई कृतज्ञता व्यक्त गर्ने दिन ।। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरुपूर्णिमाका रुपमा मनाउने गर्दछन् । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षेत्रपूर्णिमा अर्थात् गुरु पूर्णिमाकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो । चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले यो दिनलाई गुरुपूर्णिमाको रुपमा मनाउने गरिएको हो । 

पूर्णिमा अर्थात पूर्ण चन्द्रमा लाग्ने दिन । यस्तै हुन्छन् गुरुहरु पनि – पूर्ण ।  सिप, माया, समर्पण, प्रेरणा, हौसलाले भरिपूर्ण । अनि पूर्णिमाको रातमा चन्द्रमाले दिने उज्यालोले जसरी रातको अँध्यारो हटेर जान्छ त्यसरी नै गुरुले हाम्रो जीवनमा अज्ञानताको अँध्यारो हटाइ ज्ञानको उज्यालो छर्छन् ।
‘गुरु’ भन्ने शब्द दुई संस्कृत शब्दहरु मिलेर बनेको छ । ‘गु’ अर्थात अन्धकार, ‘रु’ अर्थात हटाउने । तसर्थ ‘गुरु’ शब्दको अर्थ भनेको अन्धकार हटाउने भनेर बुझिन्छ । जसले अन्धकारलाई हटाएर ज्योति छर्छ उहि नै गुरु हो । यस शब्द आफैंले नै गुरुको महिमालाई घामजस्तै छर्लङ्ग बनाउँछ । जीवनमा अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको उज्यालो छर्ने व्यक्ति गुरु नभएमा हामी केवल पशुसरह हुन्छौं । अज्ञानतामा भड्किइरहेको, कुनै लक्ष्य, कुनै अस्तित्व नभएको प्राणी हुन्छौं । 
हिन्दु धर्मका ग्रन्थहरुलाई आधार मानेर हेर्दा प्राचिन काल देखि नै गुरु – शिष्य परम्पराको महत्व रहेको देखिन्छ । प्राचिन समयमा आफ्नो घररुपी पहिलो पाठशालामा आमाबुवा (प्रथम गुरु)बाट शिक्षित–दिक्षित भइसकेपछि गुरुकूलमा गएर अध्ययन गर्नुपर्ने प्रावधान रहेको थियो । त्यसै अनुसार पहिले पहिले गुरुकै घरमै १२–१३ वर्ष बसेर अध्ययन गर्ने र पूर्ण शिक्षित भइसकेपछि मात्र घर आएर गृहस्थाश्रम चलाउने गरिन्थ्यो । यस प्रचलनमा एउटा गुरुका थुप्रै शिष्यहरु रहने गर्थे जो जीवनकालपर्यन्त शिष्यका उन्नति अवनतिका साक्षी, तिनका समस्या निराकरणकर्ता, सल्लाहकार र उपदेशक मानिन्थे । र विद्यार्थीहरु गुरुको श्रद्धा गरि आफ्नो क्षमताले भ्याएअनुसारको गुरुदक्षिणा दिने गर्थे । पौराणिक युगका कथाहरुमा गुरु र शिष्यका पात्रहरु प्रशस्तै भेटिन्छन् । एकलव्यले द्रोणाचार्यलाई गुरुदक्षिणा स्वरुप हातको औंला दिएका कथा होस् या ऋषि धौम्यले उपमन्युलाई देखाएको बाटो, गीता होस् या महाभारत महान गुरुहरु र उनका शिष्यहरु सम्बन्धि पढ्न पाइन्छ । शास्त्रहरुमा गुरुको महत्व धेरै माथि छ । गुरुको कृपा बिना भगवानको प्राप्ति असम्भव मानिन्थ्यो । त्यसो त आधुनिक युगमा पनि गुरुको महत्व घटेको छैन ।

एउटा राम्रो भविष्यको निमित्त गुरुको विशेष योगदान रहेको हुन्छ । गुरुबाट पाएको ज्ञानले गर्दा नै हामी जीवनमा अघि बढ्न सक्छौं । आमाबुबाले संसार मात्र देखाउछन् यस संसारमा कसरी जीउने भन्ने ज्ञान भने गुरुले नै दिन्छन् । महान दार्शनिक ब्चष्कतयतभि ले भनेका छन्, ूत्जयकभ धजय भमगअबतभ अजष्मिचभल धभिि बचभ mयचभ तय दभ जयलयचभम तजबल उबचभलतक, ायच तजभकभ यलथि नबखभ षिभ, तजयकभ तजभ बचत या ष्खिष्लन धभिि।ू जन्म दिने आमाबाबुलाई भन्दा शिक्षा दिने शिक्षक÷गुरुलाई बढि सम्मान गर्नुपर्छ किनभने आमाबाबुले त जीवन मात्र दिन्छन् असल जीवन दिने शिक्षकले हो । शिक्षक त्यो ज्योती हुन् जसले हामीलाई जीवनका मार्गहरु देखाइरहेका हुन्छन् जसको अभावमा हामी अन्धकार, अज्ञानता, शुन्यतामा रुमल्लिन्छौं । 
समग्रमा हेर्दा शिक्षकहरुलाई राष्ट्रनिर्माता भन्दा कुनै फरक पर्दैन । किनभने राष्ट्रका लागी आवश्यक जनशक्ति डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक सबै शिक्षककै चेला हुन् । संसारका जो कोही महान व्यक्तित्व हुन् उनीहरु सबै कुनै न कुनै शिक्षकका मेहनतका फल हुन् । कुनै पनि राष्ट्रको उन्नति शिक्षासँग जोडिएको हुन्छ तर अफसोच हाम्रो जस्तो विकाशोन्मुख राष्ट्रहरुमा शिक्षा प्रदान गर्ने शिक्षकलाई न्युन आयस्तरको जागिरमा राखिन्छ । म ११ मा पढ्दा मलाई पढाउने एक शिक्षक भन्नुहुन्थ्यो जब कुनै पनि जागिर पाइदैंन तब मात्र शिक्षक बन्नु । १२ सकेपछि जागिरका लागि भौतारिदैं गर्दा आपैmंले पनि शिक्षक हुने अवसर पाए तब महसुस भयो शिक्षक अर्थात गुरु हुनु धेरै नै चुनौतिपूर्ण जागिर हो । गुरुको महिमा र महत्व सायदै शब्दमा वर्णन गर्न सकिएला ।
गुरु शिष्यको सम्बन्धलाई लिएर थुपै्र चलचित्रहरु पनि बनेको छ । “ब्ल्याक” मा एउटा गुरुले अपाङ्ग छात्राको शिक्षा र उन्नतिको लागि गरेको संघर्षलाई देखाइएको छ । जो शिक्षक अनन्तकालमा गएर आफैं मानसिक रोगदेखि पिडित हुन्छन् तर आफ्नो त्यस अपाङ्ग छात्राले पाएको सफलतामा उनि अति खुशी हुन्छन् । साँच्चै नै शिक्षकहरु आफ्नो छात्राको सफलतामा नै आफ्नो सफलता देख्छन् । त्यस्तै “तारे जमिन पर” मा डिस्लेक्सीक बच्चा इसान र निकुम्भ सर बिचको सम्बन्धलाई देखाइएको छ । इसानको आमाबुबाले पनि देख्न नसकेको इसानको प्रतिभालाई उजागर गराउन लागिपर्छन् निकुम्भ सर । त्यस्तै “स्टान्ली का डब्बा”, “अक्टुबर स्काइ”, “दोस्ती”, “गुरुदक्षिणा” जस्ता चलचित्रहरुले शिक्षकको त्याग समर्पनलाई झल्काउँछन् ।
अन्त्यमा, यो लेख मेरा सम्पूर्ण गुरुहरुमा समर्पण गर्न चाहन्छु मेरो कर्म दिने आमा, मेरी शिक्षीका दिलु सुब्बा अनि मलाई यो लेख लेख्ने सक्ने बनाउनुहुने मेरा सम्पूर्ण गुरुबा तथा गुरुआमाहरुमा । म एकलव्यले जस्तै आफ्नो हातको औंला काटेर हजुरहरुलाई गुरुदक्षिणा त चढाउन नसकुलाँ तर हजुरहरुले देखाउनुभएको बाटोलाई पहिल्याउँदै एक असल र उदाहरणिय मानिस बन्ने प्रयत्न गर्नेछु, यहि नै मेरो क्षमताले भ्याउनसक्ने गुरुदक्षिणा हजुरहरुको लागि ।

{ 2 Replies... read them below or Comment }

- Copyright © Darpan Sharma - Date A Live - Powered by Blogger - Designed by Johanes Djogan -